Headlines News :
Home » » के हो विश्वकी सबैभन्दा वृद्ध महिलाको दीर्घ जीवनको रहस्य

के हो विश्वकी सबैभन्दा वृद्ध महिलाको दीर्घ जीवनको रहस्य

Written By Resham Shrestha on Monday, March 4, 2013 | 2:00 AM

टोक्यो, फागुन २१ (एजेन्सी)- जापानकी मिसाओ ओकावा अर्को साता एक सय १५औं जन्म दिन मनाउने सुरसारमा छिन्। तर मंगलबार नै पृथ्वीकी सबैभन्दा वृद्ध जीवित महिलाका रुपमा गिनिस बुक अफ वर्ल्ड रेकर्डस्मा उनको नाम दर्ता भएको छ।
किमोनो सिउने एक जापानीकी छोरी ओकावा सन् १८९८ मा जन्मेकी थिइन्। बुधबार उनले एक समारोहमा गिनिस बुकबाट सबैभन्दा वृद्धाको प्रमाणपत्र पाउँदा तीन महिने पनातिसमेत उनको छेउमा थियो। समारोहपछि उनले आफूलाई मन पर्ने मकरेल सुसी स्वाद लिएर खाइन्।
उनको दीर्घ जीवनको रहस्य के हो? समारोहपछि एक पत्रकारलाई उनले भनिन्, 'आफ्नो स्वास्थको ख्याल राख्नु।' ओकावाका लागि यसको अर्थ, जे मन लाग्छ खानु हो। यति चाहीं हुनैपर्छ- त्यो खानेकुरा जापानमा नै उत्पादन भएको हुनुपर्छ।
विश्वमा बढी उमेरका भनौं वा बढी बाँचेका मानिसको सबैभन्दा धेरै जनसंख्या जापानमा छ। जापानमा अहिले ५० हजारभन्दा बढी जीवित जापानी सय वर्षभन्दा माथिको उमेरका छन्। अर्को शब्दमा भन्ने हो भने दीर्घ जीवनको रहस्य जापानीसँग छ। के हो त जापानीको दीर्घ जीवनको रहस्य? उत्तर सजिलो छ- स्वस्थ भोजन। विश्वका कुनै पनि देशका महिलाभन्दा जापानी महिला लामो जीवन बाँच्छन्। जापानी महिलालाई लामो जीवनमा हङकङका महिलाले मात्र पछि पारेका छन्। विश्वको सबैभन्दा बढी बाँचेका र जीवित पुरुष समेत जापानी नै छन्। उनी हुन्- जिरोमन किमुरा। किमुरा अहिले एक सय १५ वर्षका भए।
'जापानी वुमन डन्ट गेट ओल्ड अर फ्याटः सिक्रेट्स अफ माइ मदर्स टोक्यो किचन' पुस्तककी सहलेखिका नाओमी मोरियामा भन्छिन्, 'ग्याजेट्समध्ये आइप्याडको बोलबाला भएजस्तै भोजनमा जापानी भोजनको स्थान छ। शरीरका लागि सर्वोत्तम ऊर्जायुक्त खानेकुरा जापानी भोजनको अभिन्न हिस्सा हुन्छन्।'
एउटा सामान्य अमेरिकालीले गर्ने भोजनभन्दा खसोखास स्वदेशी शैलीको भोजन गर्ने एउटा सामान्य जापानीको भोजनमा २५ प्रतिशत थोरै क्यालोरी हुन्छ। जापानी भोजनमा समावेश हुने प्रमुख कुरा सागसब्जी र माछा हुन् जुन ओमेगा-३ फ्याटको मुख्य स्रोत हुन्। वैज्ञानिक र चिकित्सक ओमेगा-३ लाई मुटु स्वस्थ राख्ने सर्वोत्तम तŒव मान्छन्। जापानी भोजन अत्यधिक मात्रामा शाकाहारमा आधारित हुने भएकाले जापानीहरू रातो मासु कमै मात्र खान्छन्। रातो मासु नियमित सेवन गरे स्वास्थमा अनेकौं समस्या आउने चिकित्सक बताउँछन्।
सर्वाधिक बाँचेका जीवित जापानीहरूको २५ वर्ष लगाएर गरिएको समूहगत अध्ययनको नतिजा सार्वजनिक गरिएको छ। अध्ययन नतिजा अनुसार ओकिनावाका वासिन्दा पारम्परिक शैलीको भोजन गर्ने पाइएको छ। उनीहरूको भोजनमा भात, भटमासको अचार र सागसब्जी समावेश हुने गरेको पाइयो। त्यसैले हुनसक्छ ओकिनावाका महिला औसत कम्तिमा पनि ८६ वर्षसम्म बाँच्ने गरेका छन्।
जापानी महिलामा अहिलेसम्म प्राकृतिक रुपमा नै मेनोपज(महिनावारी बन्द) हुने गरेको छ। उनीहरूले यसका लागि हार्मोन थेरापी गर्नु पर्दैन। हार्मोन थेरापीले स्वास्थमा विभिन्न जटिलता निम्त्याउँछ। अनुसन्धानकर्ताका विचारमा जापानी पारम्परिक भोजनमा भटमास समावेश भएकाले नै जापानी महिलाले मेनोपजका बेला हुने हार्मोनको अत्यधिक गडबडी र मानसिक तनाव थोरै मात्र झेल्नुपर्छ। त्यसका तुलनामा अमेरिकाली महिलाले भटमासका विभिन्न उत्पादन खाए पनि त्यसको फाइदा नहुने चिकित्सक बताउँछन्। किनभने भटमासमा पाइने फाइटोएस्ट्रोजेन भोजन मार्फत प्राकृतिक रुपमा खाएमात्र शरीरमा त्यसको असर हुने गर्छ।
जापानी भोजनलाई दीर्घ जीवनबाट अलग राखेर हेर्ने हो भने यसका पछाडि वंशाणुगत संरचनाको समेत भूमिका हुने गर्छ। अर्थात अध्ययनबाट वंशाणुगत संरचनाका कारण जापानीहरू केही रोग लाग्दैनन्। त्यसमाथि सकारात्मक र तनावविहीन जीवन शैलीले जापानीलाई दीर्घजीवि बनाएको छ। अहिले पनि अधिकांश ओकिनावावासी दिनहुँ ध्यान गर्छन् र उनीहरू अलार्म घडिको प्रयोग नगर्ने मात्र होइन भागदौडको जीवन शैलीबाट समेत निकै टाढा छन्।
दीर्घजीवि ओकावा ओसाकामा जन्मेको वर्ष स्पेन-अमेरिका युद्ध सुरु भएको थियो। त्यही वर्ष म्याडम क्युरीले रेडियमको आविष्कार गरेकी थिइन्। सन् १९१९ मा २१ वर्षको उमेरमा बिहे गरेकी ओकावाका तीन छोराछोरी र चार नातिनातिना भए। छ जना पनातिपनातिनी भएकी उनी पतिको मृत्युपछि फेरि ओसाका नै फर्किइन्।
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger