Headlines News :
Home » , » कमरेडहरुको प्रेम

कमरेडहरुको प्रेम

Written By Gaurab Shrestha on Wednesday, March 6, 2013 | 7:24 AM


एकदमै अन्तर्मुखी देखिन्छन्, प्रधानमन्त्री डा. बाबुराम भट्टराई । उनलाई चिन्नेहरू भन्छन्, पहिले त हाँस्नै पनि गाह्रो मान्थे । तर, आफ्नो जमानामा यी पनि प्रेमको सागरमा डुबेकै थिए । गोर्खाको बाहुन परिवारका भट्टराईले दिल्लीमा इन्जिनियरिङ पढ्दै गर्दा काठमाडौंकी नेवार केटी हिसिला यमीलाई भेटे । सहरिया केटी र अन्तर्मुखी गाउँले केटाबीच पहिले विचार र पछि मनको निकटता भयो । दिल्लीमा ट्याक्सी दुर्घटनामा घाइते भएका बाबुरामलाई हिसिलाले उपचार र स्याहार-सुसार गरिन् । यमी सम्झन्छिन्, 'साँच्चै त्यस दुर्घटनाले हाम्रो प्रेम झन् गहिरो बन्यो ।' प्रेमको पहिलो प्रस्ताव कसले राख्यो भन्नेमा चाहिँ यी दुईको बेग्लाबेग्लै मत छ । बाबुरामको प्रेम त अलि अघिको भयो, युद्धकालमा पनि माओवादीमा प्रेमको फूल खुब फुल्यो । 'शत्रु'का आँखा छलेर हिँड्नुपर्ने मात्र होइन, परिआए लड्नै पनि पर्ने अवस्थामा पनि कतिपय तन्नेरी नेता प्रेममा परेका थिए । 'सजिलो पटक्कै थिएन । एउटा राजनीतिक मिसनमा हिँडेका वेला पनि मन मिल्ने मान्छे भेट्टाइयो । खुसी लाग्छ ती दिन सम्भ“mदा,' पूर्वमन्त्री सत्या पहाडी भन्छिन्, 'भेट्दा र समय मिल्दा हामी मनका कुरा गथ्र्यौं ।' भूमिगत कालमा पार्टीले आयोजन गर्ने भेला, प्रशिक्षण वा आन्तरिक बैठकसमेत आफूले मन पराएको व्यक्तिसँग प्रेम-वार्ता गर्ने अवसरका हुन्थे । 'समय निकालेर गफ हुन्थ्यो नि,' माओवादी शक्ति बस्नेतसँग युद्धकालमै प्रेम गरिरहेकी पहाडीको अनुभव छ, 'अवसर पाएपछि मनका कुरा पनि गर्नुपर्छ भन्ने हामीलाई थाहा थियो ।' पहाडी भन्छिन्, 'कम्युनिस्टहरूको जीवन हराभरा हुन्छ भन्ने देखाउनका लागि ०५३ मा युद्धकालमै हामीले विवाह गरेका हौँ ।' उनीहरूबीच ०४८ सालमा भएको राजनीतिक प्रशिक्षणमा चिनजान भएको थियो । अहिले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बाग्लुङका देवेन्द्र पौडेलले युवा सम्मेलनमा परिचय भएकी केटीलाई मन पराए । ती थिइन् बलावती शर्मा । 'त्यही परिचयलाई पछि संगठनका अरू साथीले विवाहमा परिणत गराइदिए,' बलावतीको भनाइ छ । एमाओवादी नेता एवं मन्त्री टोपबहादुर रायमाझी 'अनील' पार्टीकामका सिलसिलामा दिल्ली जाँदा एक लाहुरेकी छोरी योगमायाले खुबै मन पराइन् । बढ्दो भेटघाटसँगै प्रेम निकै झाँगिँदै गयो र दिल्लीमै प्रगतिशील विवाह भयो । अहिले यो जोडी टुटेको छ ।'रेडिकल' मानिने नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द 'विप्लव'ले पनि २० वर्षको उमेरमा प्रेम गरे । विद्यार्थी संगठनमा काम गर्दै गर्दा रोल्पाका चन्दको प्रेम बस्यो, ठकुरी जातकी एक स्थानीय युवतीसँग । उनी थिइन्- शोभा मल्ल । 'भेट हुँदा कुराकानी हँुदै गयो । एक-अर्कालाई मन परायौँ,' शोभा हाँस्दै भन्छिन्, 'पार्टीको काम पनि गरियो । प्रेम पनि गरियो ।' विवाह हुँदा विप्लव २० र शोभा १६ वर्षका थिए । अर्थमन्त्री वर्षमान पुनले रोल्पा माडीचौरकै ओनसरी घर्तीलाई प्रेमप्रस्ताव राखे । 'हाम्रो घर नजिकै थियो, सानैदेखि चिनजान थियो । पछि प्रेममा बदलियो,' ओनसरीले आफ्नो प्रेमकहानी खेालिन्, 'उहाँ मभन्दा सिनियर भएर होला, पहिलो प्रस्ताव उहाँबाटै आयो । तर, मैले उसै दिन जवाफ दिइनँ र उहाँलाई केही दिन पर्खन भनँे । उहाँले पनि 'हुन्छ' भन्नुभयो । अनायासै माया बस्यो ।' नेकपा-माओवादीका महासचिव रामबहादुुर थापा बादलले ०४० सालमा नैनकला थापासँग जनवादी विवाह गरे । त्यतिवेला नैनकला महिला संगठनकी सदस्य थिइन् । अहिले सोही पार्टीका सचिव देव गुरुङको पनि ०४४ सालमा दाङकी यशोदासँग पार्टीकै योजनामा जनवादी विवाह भयो । 'विचार र लक्ष्य मिलेकाले नै विवाह भयो,' गुरुङ भन्छन् । भूमिगतकालमै एक-अर्कालाई मन पराउँथे यी दुवै र पार्टीकामको सिलसिलामै समय निकालेर डेटिङ गर्थे । माओवादीका अर्का वरिष्ठ नेता पोस्टबहादुर बोगटीले पनि प्रेमको स्वाद लिएका थिए आफ्नो उमेरमा । उनले पनि प्रेममिश्रति विवाह गरेका थिए । माओवादीका अर्का नेता राम कार्कीलाई ०४२ सालको बमकाण्डपछि पार्टीले भारत पठायो । त्यही भूमि र समय उनको प्रेम उमार्नका लागि अनुकूल बन्यो । बाबुरामको विद्यावारिधि सकिन लागेको थियो भने कार्की संगठनका काममा थिए जेएनयूमा । त्यहाँ सिक्किमकी सेराप सेङ्गा बिएमा पढ्दै थिइन् । सेङ्गा पनि माक्र्सवादी आन्दोलन र माहोलबाट प्रभावित भइछिन् । कामकै सिलसिलमा दार्जिलिङ र सिक्किम जानुपर्ने भयो कार्कीलाई । ती युवतीले आफ्नो क्षेत्रमा काम गर्न आएका कार्कीलाई सहयोग गरिन् । यस सहयोगसँगै मौलाएको उनीहरूबीचको मित्रता प्रेममा परिणत भयो र ०४९ सालमा उनीहरूले विवाह गरे । 'प्रेमले क्रान्तिकारी आन्दोलनमा लाग्न मद्दत पुर्‍याउँछ । पत्नीको प्रेमले मान्छेलाई मान्छे भएको अनुभूति बेजोड ढंगले दिन्छ,' कार्कीको कथन छ । माओवादी पोलिटब्युरो सदस्य हितमान शाक्य र अमृता थापाबीच पनि चल्यो, प्रेमको सिलसिला । पे्रमलाई विश्वास र प्रेरणाका रूपमा लिन्छन्, नेता शाक्य । ०५१ सालमा बाबुराम, यानप्रसाद गौतम र ईश्वरी दाहालको उपस्थितिमा जनवादी विवाह भएको हो उनीहरूबीच । तत्कालीन विद्यार्थी नेता कृष्णध्वज खड्काको प्रयासले यी दुईबीच प्रेम बसेको बताइन्छ । शाक्य बाग्लुङ र थापा स्याङ्जाकी हुन् । एमाओवादी पोलिटब्युरो सदस्य चन्द्रप्रकाश खनाल बलदेवले पनि मायाप्रेमपछि जनवादी विवाह गर्नेमा आफ्नो नाम सूचीकृत गरेका छन् । अर्घाखाँचीे ढाकावाङमा जन्मेका बलदेवको पार्टीको काममा नै लाग्दा कपिलवस्तुकी यमा बन्जाडेसँग प्रेम बस्न गयो र पछि ०५१ सालमा विवाह भयो । माओवादीका अर्का पोलिटब्युरो सदस्य कुलप्रसाद केसीको पनि ०५२ सालमा तारा घर्तीसँग जनवादी विवाह भएको हो । तारा रोल्पामा माओवादीनिकट महिला संगठनकी जिल्ला अध्यक्ष थिइन् । 'संगठनमा काम गर्दा-गर्दै चिनजान भयो, यसपछि यसले प्रेमको रूप लियो,' तारा भन्छिन्, 'तर, व्यक्तिगत भेटघाट कहिल्यै भएन । पार्टीकै काममा समय-समयमा हामी भेट्थ्यौँ । भेला र प्रशिक्षण नै हाम्रा डेटिङ पोइन्ट बने कि ?' उनी ठट्टा गर्छिन् । सिन्धुलीनिवासी एमाओवादी नेता हरिबोल गजुरेलको पनि चितवनकी सावित्री पाण्डेसँग जनवादी विवाह भएको हो । अर्का पोलिटब्युरो नेता नारायणप्रसाद शर्मा जाजरकोट जाँदा शान्ति गौतमसँग दिल साटेछन् र पछि उनीहरूको जनवादी विवाह भएको थियो । लीलामणि पोखरेल पनि मायाप्रेमको अनुभव बटुलेका नेतामा पर्छन् । उनले शशि श्रेष्ठसँग प्रेमपछिको अन्तरजातीय विवाह गरेका हुन् । निनु चापागाईंले पनि इन्दिरा दलीसँग अन्तरजातीय प्रेम-विवाह गरेका हुन् । विश्वभक्त दुलाल 'आहुति'ले पहिला अन्जना बिसंखेसँग मागी विवाह गरेका थिए, तर पछि उनीहरूबीच सम्बन्ध-विच्छेद भयो । यसपछि उनले बुद्धलक्ष्मी महर्जनसँग मायाप्रेम गरेर अन्तरजातीय प्रेम-विवाह गरे । विश्वनाथ साहले पनि प्रेमपछि पूर्वसभासद् सीता पोखरेलसँग अन्तरजातीय जनवादी विवाह गरे ।

एमाले नेता पनि प्रेममा खप्पिस

कुनै वेला 'आइरन म्यान'को छवि बनाएका एमाले उपाध्यक्ष वामदेव गौतम जीवनमा एकपटक प्रेममा पग्ले । उनलाई पगाल्ने नारी थिइन्, नौ कक्षामा पढ्दै गरेकी लाहुरेकी छोरी तुलसा थापा मगर । गोरखपुरको सुखीनगरमा पार्टी कामकै सिलसिलामा उनीहरूबीच पहिलो भेट भयो । तुलसा कार्यक्रमकी स्वयंसेविका थिइन्, गौतम पार्टी प्रतिनिधि । ०३० सालको फागुनमा वामदेवले प्रेमको प्रस्ताव राखे । १७ मंसिर ०३१ मा यो जोडीको जनवादी बिहे भयो । 'हामी एकअर्कालाई राम्ररी बुझ्छौँ,' तुलसा भन्छिन्, 'त्यसैले हाम्रो प्रेम कहिल्यै कम भएन ।'अमृतकुमार बोहोरा र अष्टलक्ष्मी शाक्यको प्रेमको डायरी त अझ रोचक छ । बोहोरासित विवाह गर्नुअघि अर्कै व्यक्तिसँग शाक्यको बिहेको दिन जुरिसकेको थियो । सुपारी पनि साटिइसकेको थियो । तर, ०३६ सालकै एक रात उनी सिरानीमा चिठी छाडेर कम्युनिस्ट आन्दोलनमा होमिइन् । त्यहीँ उनको अमृत बोहोरासँग चिनजान भयो । हिमचिम बढ्यो । बाँकी त्यही थियो, माया बस्यो । पार्टीले शाक्यलाई सिन्धुपाल्चोकको पिस्करमा भूमिगत रूपमै काम गर्ने गरी खटायो । भूमिगत भएको एक वर्षमै ०३७ सालमा नरदेवीस्थित झलनाथ खनालको सुसराली घरको एउटा कोठामा कम्युनिस्ट पार्टीको झन्डामुनि शपथग्रहण गर्दै अमृत र अष्ट बिहेबारीमा बाँधिए । माधव नेपाल, झलनाथ खनाल र पार्टीका अरू नेता पनि त्यसमा उपस्थित थिए । हाल एमाले अध्यक्ष इलामका झलनाथ खनाल राजधानीमा पढ्दै र भूमिगत रूपमा राजनीति पनि गर्दै थिए । रविलक्ष्मी चित्रकारको घर उनका 'सेल्टर'मध्ये एक थियो । झलनाथ रविलक्ष्मीसँग मोहित हुँदै गए र त्यो मोह एक दिन प्रस्तावका रूपमा व्यक्त भयो । रविलक्ष्मीले स्वीकार गरेपछि कुरो पार्टीको उपल्लो कमिटीमा पुग्यो र बिहे भयो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र गायत्री आचार्यबीचको प्रेमलाई पछि पार्टीले विवाहमा परिणत गरिदियो । गायत्री अनेरास्ववियुकी केन्द्रीय सदस्य थिइन् । माधव विद्यार्थी फाँटका इन्चार्ज थिए । त्यही सिलसिलामा उनीहरूको भेटघाट र परिचय भयो । प्रेमको कोपिला फक्रन पुग्यो । उनीहरूले पार्टीमा निवेदन दिए र पार्टी आयोजनामै ०३७ सालमा उनीहरूबीच विवाह भयो । हालका एमाले महासचिव ईश्वर पोखरेल त्यतिखेर केन्द्रीय सदस्य र मध्यदक्षण्िा क्षेत्रका इन्चार्ज थिए । प्रशिक्षण्ाका सिलसिलामा ०३९ सालमा पहिलोपटक उनले मीरा ध्वजूलाई भेटे र पहिलो भेटमै प्रेम बस्यो । ०४० सालमा उनीहरूको बिहे भयो । सचिव शंकर पोखरेलको पनि प्रेमविवाह नै हो । दाङका पोखरेल ०५४ सालमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुँदा सुजिता शाक्य टिचिङ नर्सिङ क्याम्पसकी स्ववियु सभापति थिइन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे लामो समय काठमाडौँमा भूमिगत बसे । त्यही सिलसिलामा उनको पूण्र्ाशोभा चित्रकारसँग भेट भयो । चित्रकार झलनाथ खनालकी साली हुन् । चित्रकारको घर माले नेताहरूको सेल्टर हुने नै भयो । पाण्डे त्यतिखेर काठमाडौं जिल्ला सचिव थिए भने चित्रकार ललितपुर जिल्ला सचिव । राजनीतिक भेटघाट पछि प्रेममा परिणत भयो । अनि, उनीहरूले बिहे गरे ।विपक्षीप्रति कठोर वचनका धनी केपी शर्मा ओलीले पनि प्रेमविवाह नै गरेका हुन् । झापाली ओलीले पनि तत्कालीन मालेका धेरै शीर्ष नेताजस्तै काठमाडौं उपत्यकाको नेवार परिवारमै प्रेमको फूल फुलाए । उनले राधिका शाक्यसँग विवाह गरे । ०३६ सालको विद्यार्थी आन्दोलनबाट कम्युनिस्ट राजनीतिमा लागेकी राधिका शाक्य र ओलीको भेट नख्खु जेलमा भएको थियो । पछि, राष्ट्र बैंकको जागिरमा लागेकी शाक्यसँग ०४४ असारमा जेलबाट छुटेका केपीको विवाह भयो । जलस्रोतमन्त्रीका रूपमा केही लोकपि्रय काम गरेका एमालेका युवा नेता गुल्मेली गोकर्ण विष्टले पनि ०५० सालमा प्रेमविवाह गरेका हुन्, त्यो पनि काठमाडौंकै नेवार केटीसँग । असनकी प्रतिमा श्रेष्ठ त्रिचन्द्र क्याम्पसमा पढि्थन् र अनेरास्ववियुमा संगठित थिइन् । उनको शंकरदेव क्याम्पसमा पढ्ने विद्यार्थी नेता गोकर्ण विष्टसँग माया बस्यो । कुनै वेला नेपालका नेल्सन मन्डेलाका रूपमा चिनिने मोहनचन्द्र अधिकारीको प्रेमको बिरुवा भने जेलमा रोपिएको थियो । स्नातकोत्तर गरेर अध्यापन पेसा अँगालेकी बालकुमारी खनाल ०४२ सालको शिक्षक आन्दोलनमा पक्राउ परिन् र भैरहवा जेलमा थुनिइन् । अड्डासार गर्दै त्यतिखेर त्यही जेलमा पुर्‍याइएका मोहनचन्द्र जेलकी एक मात्र महिला बन्दी बालकुमारीलाई जेल प्रशासनले तेस्रो श्रेण्ाीको खाना दिएको देखेर भावुक बने । मोहनचन्द्रकै आग्रहमा बालकुमारीले पनि उनीहरूसँगै पहिलो श्रेेण्ाीको खाना पाइन् । एउटै मेसमा खाँदाखाँदै उनीहरूको हृदयमा प्रेमको बीजारोपण्ा भइसकेको थियो । २४ माघ ०४७ मा उनीहरूबीच ललितपुरको पुल्चोकस्थित भूपू सैनिक संगठनको प्रांगण्ामा एमालेले विवाह गरिदियो ।स्वर्गीय मदन भण्डारीले पनि एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी -पाण्डे) सँग प्रेम र जनवादी विवाह नै गरे । पार्टीकामको सिलसिलामा ०३६ सालमा भोजपुर पुगेका भण्डारी र पाण्डेबीच पहिलो भेट भएको थियो । त्यसपछि महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा अखिलको राजनीति गरिरहेकी विद्यालाई मदनले विवाहको प्रस्ताव राखे र उनीहरूबीच पार्टीले विवाह गरिदियो ।  एमाले पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेले पनि प्रेमको मोर्चामा आफूलाई कमजोर हुन दिएनन् । तत्कालीन मालेको नारायण्ाी अञ्चल इन्चार्ज न्यौपाने वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्ने पवित्रा भट्टराईसँग प्रेममा परे । अखिलको अञ्चल कमिटी सदस्य पवित्रा महिलाहरूको कमिटीमा थिइन् । राजनीतिक कामकै दौरानमा भेट भयो, कुराकानी भयो, मन मिल्यो र पार्टीलाई जानकारी दिएर २०४१ साल वैशाखमा उनीहरूले विवाह गरे ।प्रदीप नेपालले पनि प्रेमविवाह नै गरे । मेची अञ्चलमा कार्यरत हुँदा नेपालको झुमा देवानसँग भेट भयो । झुमा त्यतिवेला विद्यार्थी कार्यकर्ता थिइन् । पार्टी नेताको हैसियतले प्रशिक्षण्ामा जाँदा प्रदीपले झुमालाई मन पराएका हुन् । पछि, उनीहरूको प्रेमविवाहमा परिणत भयो ।
अहिले एमाले छाडेर संघीय समाजवादी पार्टी बनाएका पूर्वएमाले उपाध्यक्ष अशोक राई ०३८ सालतिर भोजपुरमा भूमिगत थिए । ०३५ सालताका काठमाडौंमा विद्यार्थी छँदा चिनापर्ची भएकी सुशीला श्रेष्ठसँग उनी आकषिर्त भए । सलक्क जिउडाल भएका राई सुशीलालाई पनि राम्रै लागे । प्रेम बस्यो र राईले विवाहका लागि पार्टीमा प्रस्ताव लगे । ०३८ सालमा भोजपुरको छिन्नामखु गाविसको रिठ्ठाकोटे गाउँकी लक्ष्मी राईको घरमा जनवादी बिहे भयो ।

Source : Naya Patrika
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger