चलचित्र सुनगाभालाई ओष्कार अवार्डका लागि पठाइएपछि यसले अहिले चर्को विवाद सिर्जना गरेको छ । विशेषगरी सिनेमाका निर्माता, निर्देशक विदेशी नागरिक भएको भन्दै विभिन्न चलचित्रकर्मीहरुले विरोध जनाइरहेका छन् । यसैवीच सुनगाभा विवादको बिषयमा निर्माणपक्षले मुख खोलेको छ । चलचित्रका निर्देशक सुवर्ण थापाले फ्रान्सबाट स्काइपमा कुरा गर्दै भने, ‘मैले कलाकारको नाताले सिनेमा बनाएको हो, राम्रो सिनेमा बनाउँदा यस्तो विवाद आउनु दु:खको कुरा हो । ‘ उनले सबैभन्दा पहिलो कुरा राष्ट्रियता भएको भन्दै यसलाई विवादमा नलैजान आग्रह गरेका थिए ।
१ बर्ष देखि फ्रान्सको नागरिकता लिएका सुवर्णले एनआरएनहरुले सिनेमामा लगानी गर्ने वातावरण बनाउनु पर्ने बताउँदै यस्तो क्रियाकलापले बातावरण खलबलिने बताए । यस्तै कार्यक्रममा उपस्थित चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले ओष्कारका लागि सिनेमा छनोट गर्ने समितिले केही कार्ययोजना परिमार्जित गर्दै अघि बढ्नु पर्ने बताउदै यस्तो कामलाई सबैले प्रोत्साहन गर्नु पर्ने बताए ।

चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्काले सुनगाभा ओष्कारको लागि छनोट हुनु गर्वको कुरा भएको बताए । ओष्कार सिनेमा छनोट समितिमा रहेका निर्देशक लक्ष्मीनाथ शर्माले सबै कुराको विश्लेषण गरेर सुनगाभालाई ओष्कारको छनोटमा पठाएको बताए । नायिका निशा अधिकारीले सबैभन्दा ठूलो कुरा राष्ट्रियता भएको भन्दै ओष्कारमा छनोट हुँदा नेपालीहरु खुशी हुनु पर्नेमा जोड दिइन । नीशा अधिकारी, दिया मास्के, सौगात मल्ल लगायतका कलाकारले अभिनय गरेको सुनगाभासँगै वधशाला, शिरिषको फूल लगायतका चलचित्र अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए ।
Post a Comment