Headlines News :
Home » » नायिका विपना थापा ५ वर्षदेखि चुपचाप छिन्

नायिका विपना थापा ५ वर्षदेखि चुपचाप छिन्

Written By Gaurab Shrestha on Saturday, August 24, 2013 | 11:40 PM


Bipana Thapaकुनै बेलाकी चर्चित नायिका विपना थापा ५ वर्षदेखि चुपचाप छिन् । बिहेपछि फिल्मी दुनियाँबाट आराम लिएकी विपना आफन्त भेट्न हालै दैलेखमा झुल्किइन् । भारतको मथुरामा परिवारसँगै बसिरहेकी विपनाले बच्चा हुर्केपछि पुनः नेपाली फिल्ममा अभिनय गर्ने सोच बनाएको सुनाइन् । 'जिन्दगी र समयको माग बुझ्नुपर्छ । यो समय बच्चाको पालनपोषणको लागि हो,' उनले भनिन्, 'बिहेपछि पत्नी, बुहारी र आमाको भूमिका निर्वाह गर्नैपर्दो रहेछ ।'
साढे तीन वर्षको छोरा कुशाग्र र केही आफन्तसहित दैलेख आइपुगेकी उनी डेढ वर्षपछि फिल्ममा फर्किने जनाइन् । १ सय ११ फिल्ममा अभिनय गरेकी विपनाले बलिउडतिर भने कुनै योजना नभएको बताइन्, भनिन्, 'जे गर्छु  नेपाली फिल्म उद्योगमै गर्छु ।' पाँच वर्षअघि उनको बिहे मथुराको एउटा राजनीतिक परिवारको डा. आशुतोष भारद्वाजसँग भएको थियो । कुराकानीका क्रममा उनले भने कलाकारहरू धमाधम पार्टी प्रवेश गरिरहेका सन्दर्भ निकाल्दै 'स्क्यान्डल' बन्न मात्र राजनीतिमा प्रवेश नगर्न आग्रह गरिन् ।
'चुनाव लड्ने अफर मलाई पनि आएको हो । पाएको टिकट पनि 'नो' भन्दिएकी थिएँ,' फिल्ममा नाम कमाउने अनि त्यसको फाइदा उठाउँदै राजनीति गर्ने चलनले फिल्मप्रति जनताको वितृष्णा बढ्ने उनले दाबीसमेत गरिन् । 'राजनीतिमा युवाको खाँचो छ । तर, हाम्रा नेताहरू न आफू गर्छन्, न त अरूलाई गर्न दिन्छन्,' उनले मुलुकको राजनीतिक ट्रेन्डबारे पनि बोलिन्, 'कलाकार राजनीतिमा गएर बिगे्रको राजनीतिलाई सपार्न सक्छ भने ठीक छ, तर खाली भाषण गरेर स्क्यान्डल मच्चाउनचाहिँ राजनीति काम छैन ।'
आफ्नो पालामा फिल्म उद्योग, निर्देशक र कलाकारलाई 'एउटा लेबलमा' हेरिने गरेको दाबी गर्दै पछिल्लोपटक 'पब्लिक सम्मान'मा आँच आएको हो कि भन्दै उनले चिन्ता प्रकट गरिन् । 'फिल्म हेर्न गाउँसहर उल्टिन्थ्यो,' उनले दुःख व्यक्त गर्दै भनिन्, 'पछिल्ला वर्ष अश्लील चलचित्रको बाढी नै लागेको रहेछ ।' कतिपय निर्माता, निर्देशकले ग्लामरस् र भल्गारिटीलाई समान अर्थमा बुझेको पनि उनले आरोप लाइन् । 'यी दुईमा धेरै फरक छ । तिघ्रा देखाएर राम्रो हिरोइन बनिँदैन्,' उनी भनिन् ।
हिन्दी र अंगे्रजी फिल्मभन्दा नेपालीमा धेरै 'भल्गारिटी' भएको उनको बुझाइ छ । फिल्म उद्योगलाई अगाडि बढाउन ग्लामरस् र इन्टरटेनमेन्टलाई ध्यान दिनुपर्ने विपनाको सुझाव छ । भनिन्, 'सन्देशमूलक फिल्म बनाउनुपर्छ । किनकि, फिल्म उद्योग आमदर्शकका लागि विद्यालय हो ।' कुराकानी क्रममा दैलेखको सुन्दरताको पनि उनले प्रशंसा गरिन् । 'राम्रो प्रचार भएमा पाल्पा, इलाम, पोखराजस्तै यो ठाउँ फिल्मकर्मीको रोजाइ बन्न सक्छ,' उनले भनिन् ।
 

Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger