Headlines News :
Home » , » Keki Adikari

Keki Adikari

Written By Gaurab Shrestha on Friday, March 1, 2013 | 1:44 AM

शान्त स्वभावकी तर पर्दामा आफूलाई चञ्चले भूमिका सुहाउने बताउने केकी अधिकारी २०४५ साल पुस ३ गते काठमाडौंको जोरपाटीमा जन्मिएकी हुन्। एक भाइकी दिदी केकी चलचित्र निर्देशक बद्री अधिकारी तथा लक्ष्मी अधिकारीकी एक मात्र छोरी हुन्। आफ्नै बुवाको विद्यालय बाल सिर्जनालय, आरूबारीमा प्राथमिक शिक्षा हासिल गरी साइन्समा प्लस टु गरेकी केकी हाल प्राइम कलेजमा ब्याचलर इन इन्फरमेसन म्यानेजमेन्टकी छात्रा हुन्। केकी एनटिभी मेट्रो टुबाट प्रसारण हुने घिन्ताङ शीर्षकको नृत्य प्रतिस्पर्धामा भाग लिएपछि मिडियामा प्रवेश गरेकी हुन्। एउटा टुथपेस्टको विज्ञापनमार्फत चर्चा बटुलेकी केकीको चाहना डाक्टर बन्ने थियो तर पनि उनी अहिले कला क्षेत्रमै सन्तुष्ट भएको बताउँछिन्। हालसम्म दुई दर्जनभन्दा बढी म्युजिक भिडियो, एक दर्जन विज्ञापन एवं दुईवटा ठूलो पर्दाका चलचित्रमा अभिनय गरिसकेकी, अनुशासित तथा मर्यादित जीवन जिउन चाहने, कलाकी धनी केकी भन्छिन्-म कलाकार हुँ, ममा अभिनय क्षमता एवं पेसाअनुकूल दक्षता छ। 

तपाईंको व्यस्तता बढ्दो छ, के गर्दै हुनुहुन्छ ?
म अहिले अत्यन्तै व्यस्त छु। हप्तामा एकदिन कलेज बिदा हुन्छ अनि हरेक शनिबार सुटिङ परेकै हुन्छ। कुनै शनिबार त एकै दिनमा बिहान भिडियो बेलुका विज्ञापनको सुटिङ पनि गर्नुपरेको छ। 
छोटो समयमै यति धेरै चर्चा कसरी सम्भव भयो ?
  मानिसलाई प्रतिभाका साथै भाग्य पनि चाहिँदो रहेछ। मसँग यी दुवै भएकाले व्यस्तता र चर्चासँगै सफलता पनि बढ्दो छ। 
सफल मोडलका मापदण्ड के-के हुन् ?
म्युजिक भिडियोमा एक्ट गर्ने एक्टरलाई पनि यहाँ मोडल भनिन्छ जुन मेरो विचारमा गलत हो। म मोडल नभै कलाकार हुँ।
नेपाली कला क्षेत्रमा लागेर जीवन निर्वाह गर्न कत्तिको सजिलो छ ?
क्षमता भएकाहरूलाई हरेक क्षेत्रमा सजिलो छ। ती व्यक्तिहरूका लागि कठिन छ जसले पूरा समय दिँदैनन् तर शतप्रतिशतको आशा गर्छन्। मैले कस्तो गुणस्तरको काम र कति समय दिएको छु भन्ने कुरा पनि हेर्नुपर्छ। 
हाम्रो संस्कार, मूल्य-मान्यताका कारण यो क्षेत्रमा काम गर्दा आइपरेका चुनौतीहरू ?
हाम्रो समाजमा विविध किसिमका मूल्य-मान्यता भए पनि मेरो परिवार लचिलो भएका कारण खासै अप्ठ्यारो छैन। 
तपाईंको डि्रम डेट ?
गगन थापा। 
फिजिकल फिटनेस तथा सुन्दरताका लागि के गर्नुहुन्छ ?
म सकारात्मक सोचलाई सुन्दरता मान्छु। बाहिरी सुन्दरता र फिटनेसका लागि बिहान आधा घन्टा योग गर्छु र पानी प्रशस्त पिउँछु। त्यसपछि म जुम्बा -डान्स र्फमको एक्सरसाइज) क्लास जान्छु। 
आफ्नो कमाइ केमा खर्च गर्नुहुन्छ ?
म पैसा जेागाउने युवती हुँ। भैहाल्यो भने पहिरन, ब्याग तथा पुस्तकमा  खर्च हुन्छ। 
सबैभन्दा बढी एक्सपोज गर्न मन लाग्ने आफ्नो कुनै अंग ? 
सबैले भन्छन्-मेरा आँखा बोल्छन् रे। त्यसैले मलाई आँखामा विशेष फोकस हुन मन लाग्छ। 
यो क्षेत्रमा सिक्न बाँकी कुनै कुरा ?
मान्छेहरू मलाई कुशल नृत्यांगना भन्छन् तर मैले कहिल्यै डान्स सिकेकी छैन। औपचारिक रूपमा डान्स सिक्ने इच्छा छ। 
बोल्ड एण्ड ब्युटिफुल तीन महिला ?
उषा खड्गी, ऐश्वर्या राय र एन्जेलिना जोली। 
तपाईंको नामको अर्थ ?
केकी संस्कृत शब्द हो जसको अर्थ मयूर हुन्छ। 
फेसबुक कत्तिको प्रयोग गर्नुहुन्छ ?
म फेसबुक चलाइरहेकी हुन्छु। यसबाट मान्छेको दिमाग सित्तैमा पढ्न पाइन्छ र अझ रमाइलो कुरा त के छ भने यसबाट उक्त दिमागको मूल्यांकन पनि गर्न पाइन्छ।
अहिले लगाइरहेको महत्वपूर्ण गहना ? 
रुद्राक्ष अनि मेरो कान्छीऔंलाको औंठी जुन हीराजडित छ। यसले ममा आन्तरिक शान्ति र सकारात्मक सोच पैदा गर्छ।
आगामी योजना ?
स्नातकोत्तर पूरा गर्ने। जे काम गरे पनि परिवारले गर्व गर्ने खालको काम गर्ने । त्यो नै मेरा लागि सफलता हुनेछ।

Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger