Headlines News :
Home » » १२ वर्षपछि हामी पनि हुइँकिउ साझा बसैमा

१२ वर्षपछि हामी पनि हुइँकिउ साझा बसैमा

Written By Gaurab Shrestha on Saturday, April 13, 2013 | 6:55 AM


sajhabus
एउटा कम्पनीले काठमाडौँका दुई वटा रुटमा जाबो १६ वटा बस चलाउँदा देश विदेशमा ठूलै चासो हुनुपर्छ? पक्कै पनि पर्दैछ। यस्ता घटना सामान्य हुन्। तर जब त्यहाँ साझाको नाम जोडिन पुग्छ, त्यो ‘असामान्य’ घटना हुन पुग्नु अस्वभाविक हैन। र त, ठूलै चासो छ अहिले देशमा अनि विदेशिएकाहरुमा माझ पनि। हो, यो साझाप्रतिको विश्वास र यसले दिएको सेवा कै कारण हो। यदि निजी क्षेत्रले साझाले दिएको जस्तै सेवा दिन सकेको भए आज साझा आउटडेटेड भइसक्थ्यो, कसैले वास्ता पनि गर्ने थिएन। तर साझालाई अहिलेसम्म बिर्सन सकेका रहेनछन् कसैले। त्यसैले राजनीतिक हस्तक्षेपले जर्जर बनाएर विघटन भइसकेको साझा यातायातले १२ वर्षपछि आज पुनः सेवा सुरु गर्न लाग्दा खुसीको एउटा सानो अंश सबैमा सञ्चार भएको छ।
सन् १९६५ मा साझा बस।
सन् १९६५ मा साझा बस।

आज साझा यातायातले आफ्नो सेवाको उद्‌घाटन मुख्य सचिवबाट गराउँदैछ। अनि टिकट काट्ने ‘किलिन्डर’ बन्दैछन् मदनकृष्ण र हरिवंश। अहिलेलाई साझा यातायातले काठमाडौँका दुई रुटमा ८/८ गरी १६ वटा बस चलाउनेछ।
साझा यातायातले आफ्नो सेवा जुलाई १६, १९६२ (साउन १, २०१९) मा सुरु गरेको हो। लामो समयसम्म यसले सेवा दिइरह्यो। काठमाडौँ उपत्यकामात्रै हैन, देशका विभिन्न भागमा यसले सेवा पुर्‍यायो। त्यतिमात्र हैन, भारतको दिल्ली र चीनको ल्हासासम्म पनि यसले सेवा विस्तार गरेको थियो कुनै ताका।
साझाको जगजगी हुँदा यातायात व्यवस्था अहिलेको जस्तो अव्यवस्थित थिएन। अहिले जस्तो बस जहाँ पायो त्यहीँ घ्याच्च यात्रु पाउने बित्तिकै रोकिँदैन थियो। निश्चित बिसौनी बाहेक यताउता बस रोकिँदैन थियो। बस चढ्नेहरु पनि बिसौनीसम्म पुग्न अल्छी गर्दैन थिए। झर्नेहरु पनि बिसौनीमै पुगी झर्न गाह्रो मान्दैन थिए।
साझाको पहिलेको निलो जापानी बस
साझाको पहिलेको निलो जापानी बस

काठमाडौँमा यात्रु र सवारी साधनको चाप बढ्दै जाँदा ठूला बस हैन, मिनी र माइक्रो गर्दै झन् झन् साना सार्वजनिक सवारी साधन आयात गर्दै चलाउन अनुमति दिने महान् विचारक र नीति निर्माताहरु यहाँ भेटिए। २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि सरकारले आफ्ना मान्छे भर्ती गर्ने र विपक्षीले गर्ने बन्दमा तोडफोड गर्ने – दुईवटैको मारमा पर्‍यो र अन्ततः धराशायी भयो २०५८ सालमा। २०६७ सालमा सहकारीको रुपमा पुनःस्थापित भएको साझा यातायातले कनकमणि दीक्षितको अध्यक्षतामा नयाँ जोशजाँगरका साथ काम सुरु गर्‍यो।
निश्चित समयमा सेवा दिने, भरपर्दो, दुर्घटना कम हुने आदि ट्रेडमार्क थिए साझाका। त्यसैले निजी क्षेत्रका जति सेवा आए पनि साझालाई कसैले बिर्सन सकेनन्। त्यसैले आज १२ वर्षपछि सेवा सुरु गर्दा सबै पुरानो दिन सम्झिएर रमाएका छन्।
३३ लाख परेको अहिलेको गाडी भारतको टाटा कम्पनीको हो। पहिले निलो जापानी बसले सेवा दिने गर्थ्यो। बिहान ५ देखि राति ११ बजेसम्म यसले सेवा दिनेछ। विद्युतीय टिकट र मोबाइल पे सिस्टमको बारेमा यसले सोधिखोजी गरिरहेको छ। यो सेवा सुरु गरे नेपालको यातायात क्षेत्रमा एउटा नौलो आयाम भने हुनेछ। अहिले नै केही मलहरुको फूडकोर्टमा भइरहेको शैलिको कार्ड सिस्टमको भुक्तानी यसले पनि सुरु गर्न सके साझाले एउटा फरक अनुभूति दिलाउन सक्नेछ।
साझालाई स्वागत ! शुभकामना !!
अहिलेको साझा बस
sajha11

Via- Mero Sansar
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger