Headlines News :
Home » , » म पनि साइकल बनाउने मिस्त्री हुँ

म पनि साइकल बनाउने मिस्त्री हुँ

Written By Gaurab Shrestha on Saturday, March 2, 2013 | 8:34 PM

कुनै बेला साहित्यकार भनेपछि नेपाली समाज ऊबाट पर हुन खोज्थ्यो। 'कविजी आउनुभयो भागौं' भन्दै चियापसलमा व्यङ्ग्य गर्ने यही समाज  अहिले कविजी आउनुभयो, केही सुनौ' भन्न थालेको छ। पत्रपत्रिका एवं पुस्तक लेखेर लाखौं कमाउने र गाडी चढ्ने व्यक्तिको संख्या लगातार  बढिरहेको छ। पुस्तक प्रकाशन गर्ने संस्था बढ्दै जानु र पत्रपत्रिकामा ती पुस्तकका विज्ञापन देखिन थाल्नुबाट पनि पुस्तक पढ्नेहरूको संख्या  बढ्दै गएको संकेत मिल्छ। यही सेरोफेरोमा अहिलेका सेलिब्रेटी साहित्यकार अमर न्यौपानेसँग नेपाली साहित्यको सेरोफेरोमा रहेर साप्ताहिकले  लामो कुराकानी गरेको थियो। 
लेखकहरू पनि सेलिब्रेटी हुन थाले, कस्तो लाग्छ ?
अचम्म र खुसी दुवै लाग्छ। हिजो प्रतिष्ठित लेखकको पुस्तक छाप्ने प्रकाशक पनि पाइँदैनथ्यो। कुनै संघ-संस्थाको नाममा आफैंले पैसा हालेर  छाप्नुपथ्र्यो अनी ती पुस्तक झोलामा बोकेर म फलानो, यो मैले लेखेको पुस्तक हो भन्दै बाँड्नुपथ्र्यो। आज दिन फेरिएको छ। 
यो क्रम कसरी सुरु भयो ?
लेखक पनि सेलिब्रेटी हुन सक्छ भन्ने प्रयोग नारायण वाग्लेको पल्पसा क्याफेबाट भयो। त्यसका प्रकाशक नेपालय तथा कान्तिपुर दैनिकले ले खक सेलिब्रेटी हो भन्ने कुरा जनतामा स्थापित गरे। नारायण वाग्लेको अटोग्राफ लिने, भेट्न खोज्ने र पत्रपत्रिकामा पुस्तकसँग सम्बन्धित  गतिविधि छाप्ने काम भयो। मेरो विचारमा त्यही नेपाली साहित्यको टर्निङ प्वाइन्ट हो। 
आजको अवस्था कस्तो छ ?
लेख्नेबित्तिकै कोही सेलिब्रेटी हुँदैनन्, त्यसका लागि गतिलो चीज चाहिन्छ। पाठकले त्यसलाई मन पराउनुपर्छ। गतिलो लेख्ने व्यक्ति थोरै भएकाले  अपवादजस्तो थोरै लेखकहरूप्रति मात्र सेलिब्रेटीको व्यवहार भएको छ र यो हुनु स्वाभाविक नै हो। 
राम्रो लेख्नेहरू अब लेखेर पनि बाँच्न सक्छन् भन्ने मान्दा हुन्छ ?
कसरी बाँच्ने भन्ने कुरामा पनि भर पर्छ। यद्यपि नेपालीहरूको औसत आय भन्दा राम्रो तरिकाले सेलिब्रेटी लेखकहरू बाँचिरहेका छन्,  कतिपयले लेखेरै गाडी चढ्ने हैसियत बनाएका छन्। नेपाली चलचित्र धराशायी भएको छ। यसका कलाकार एवं प्राविधिकहरूको जीवनस्तर खस्किएको छ।
त्यसको विपरीत साहित्यको बजार  बढिरहेको छ, यो विरोधाभास किन ?
यो दुःखद कुरा हो। चलचित्र र साहित्य दुवै समाजका अभिन्न अङ्ग हुन्। दुवैको बजार बढ्नुपथ्र्यो। म लेखक भएका नाताले साहित्यकार  समाजमा स्थापित र प्रतिष्ठित हुँदा खुसी लाग्छ, तर चलचित्र खस्केर साहित्यको बजार उक्सनुचाहिँ राम्रो कुरा होइन।
चलचित्रको बजार खस्कनु र साहित्यको बजार बढ्ने काम एकसाथ हुनुको कारण के होला ?
मानिसहरू दिनभरि प्रविधिसँग जुधिरहेका छन्। कम्प्युटर, मोबाइल, इन्टरनेट, टेलिभिजन जताततै प्रविधि नै प्रविधि अनि तारैतारको गञ्जागोल  छ। त्यसबाट बच्न एकछिन आफूलाई मनपरेको पुस्तक र मनपरेको लेखकसँग भलाकुसारी गर्न सबैलाई मनलाग्छ। चलचित्रका विकल्प धेरै  भए। तपाईं इन्टरनेटबाट, डिभिडीबाट वा चलचित्र हलमा आफूले मन पराएको चलचित्र तुरुन्तै डाउनलोड गर्न वा हेर्न सक्नुहुन्छ। नेपालमा  भने विदेशी पुस्तक पनि नेपालीमा अनुवाद भएर मानिसले पढ्न पाइरहेका छन् भने स्वयं नेपाली साहित्यले पनि केही राम्रा चीज दिइरहेको छ। 
नेपाली पुस्तक बजारमा पनि कम गुणस्तरका कतिपय पुस्तकले पनि राम्रो बजार लिएको पाइन्छ, हिजो नेपाली चलचित्रमा पनि यस्तै व्यवहार  भएको थियो। यो देखेर आज कलाकारहरूको जस्तो अवस्था छ, भोलि लेखकको पनि त्यही हुन्छ भन्ने लाग्दैन ? मेरो विचारमा चलचित्र निर्माण र पुस्तक लेखन फरक-फरक कुरा हुन्। त्यसैले चलचित्र उद्योगमा जस्तो पुस्तक प्रकाशनको उद्योगको नियम  नलाग्न सक्छ। कम गुणस्तरका पुस्तक केही समय बिक्री हुन्छन् र हराउँछन्। संसारभरि नै सामान्य पुस्तक छापिएको पहिलो वर्ष बढी बिक्री हुन्छन् र पछि  हराउँछन्। साहित्यिक मूल्य भएका कुनै पुस्तकको उमेर लेखकको उमेर जत्तिकै हुन्छ भने कसैको लेखकको भन्दा बढी हुन्छ। लक्ष्मीप्रसाद दे वकोटाको मृत्यु भएको ५० वर्ष बितिसक्दा पनि मुनामदन अहिलेसम्म जीवितै छ। पुस्तकअनुसार त्यसको उमेर हुन्छ। कुनै पुस्तकको मूल्य  हजार वर्षभन्दा बढी हुन सक्छ। 
अहिले साहित्यिक मूल्य भएका पुस्तकलाई भन्दा बिक्री बढी हुने पुस्तकलाई प्रकाशकहरूले जसरी विज्ञापन गरेर आकषिर्त गरिरहेका छन्,  यसबाट पाठकहरू झुक्किनु स्वाभाविक हो। मदन पुरस्कार पाएका स्रष्टाका नाताले के सोच्नुहुन्छ?
मलाई डर लागेको छैन। बजारमा सबै थरीका पुस्तक आउनुपर्छ। पुस्तकको प्रचार जसरी भैरहेको छ, त्यसले पुस्तकप्रति मानिसको रुचि बढाउँछ। सार्वभौम सत्यचाहिँ के हो भने पुस्तकले आफ्नै आयु लिएर आएको हुन्छ। कुनै चाँडै हराएर जान्छन्, कुनै लामो समयसम्म रहन्छन्।  स्रष्टाले कृति लेख्छ, मूल्यांकन पाठकले गर्छन्। 
तपाईं सानै उमेरमा चर्चित हुनुभयो, यति लोकप्रिय हुँला भन्ने कल्पना गर्नुभएको थियो ?
म कति लोकप्रिय भएँ भनेर आफ्नो मूल्यांकन गरेको छैन। लोकप्रिय हुँला भनेर लेखेको पनि होइन। मनमा आएका कुरा मनमा राख्न नसकेर  लेखेको हुँ। 
मानिसहरू के भन्छन् भने अमरले पानीको घाम र सेतो धरतीमा जति लेख्यो, अब त्यति लेख्न सक्दैन, किनभने ऊसँग भएको कुरा  रित्तिसक्यो। यस्तो टिप्पणी सुन्दा कस्तो लाग्छ ?
अहिले म हुम्लामा प्रचलित बहुपति प्रथाको विषयमा उपन्यास लेख्दैछु। यो मेरो तेस्रो उपन्यास हो। नयाँ उपन्यास लेख्न बस्दा मैले केहि पनि  लेखेको छैन भन्ने भावले लेख्दैछु। मानिसले आफ्नो जीवनको १० प्रतिशत कुरा पनि लेख्न सक्दैन। मेरो पनि ९० प्रतिशत कुरा लेख्न बाँकी नै  छ। एसएलसी पास गरेको व्यक्तिले प्लस टु पढ्न पनि उत्तिकै मेहनत गर्नुपर्छ। मैले एसएलसी पास गरिसके भनेर पढ्न छाड्ने हो भने ऊ  अनुत्तीर्ण हुन्छ। 
तपाईंमाथि के आरोप लाग्ने गरेको छ भने तपाई समकालीन लेखकले लेखेका राम्रा कृतिको पनि आलोचना गर्नुहुन्छ। आफ्नो बाहेक अरूको  कृतिले साहित्यिक क्षेत्रमा कुनै योगदान गर्न सक्दैन भन्ने कुरा सिद्ध गर्ने प्रयास गर्नुहुन्छ, यस्तो किन ?
त्यस्तो त होइन, मेरो भन्दा पनि राम्रा कृति निस्किएका छन्। 
तर फलानो-फलानो कृति पनि राम्रा छन् भन्नुभएको छैन नि ?
तीतो सत्य के हो भने नयाँ आयाम र नयाँपन दिने कृति आएका छैनन्। मैले पनि दिन सकेको छैन। तपाईंको आँखा पो नपरेको हो कि ?
यो मेरो कमजोरीसहितको उत्तर हो। 
तपाईंले नेपालको सबैभन्दा प्रतिष्ठित मानिएको मदन पुरस्कार पाइसक्नुभयो, अब त फलानो कृति पनि राम्रो छ भन्दा के अप्ठयारो छ र ?
मेरो आँखा खोलिदिनुभयो। आफ्नै परिवेशमा रमाउने मान्छे भएकाले म अरूको प्रशंसा गर्न चुकेको हुन सक्छु। म यसलाई सच्याउनेछु। ध्यान  दिएर हेर्नुहोस् त गुरुप्रसाद मैनालीलाई चुनौती दिने विश्वेश्वरजस्ता व्यक्ति, त्यसपछि मनु ब्राजाकी जस्तो फरक कसले दिन सकेको छ र ?  परिवर्तन नभएको होइन, तर फितलो छ। त्यसैले पनि हृदयदेखि नै प्रशंसा गर्न नसकेको हो कि ?
त्यसो भए प्रशंसा गर्न लायक समकालीन साहित्यकार छैनन् भन्ने तपाईंको ठहर हो ?
त्यसो त पटक्कै होइन। कर्णाली ब्लुज राम्रो रूप पक्ष भएको उपन्यास हो। मनु मञ्जिलका कविता राम्रा छन्। मस्तिष्कले लेख्ने कुमार नगरको टी छन्। पहिलोपल्ट साइकल बनाउने मानिस वैज्ञानिक हुन्छ। दोस्रोपल्ट साइकल बनाउने मान्छेलाई मिस्त्री भनिन्छ, वैज्ञानिक भनिँदैन। तैपनि  मैले राम्रो कृतिको प्रशंसा गर्न सकेको रहेनछु भने म आत्ममूल्यांकन गर्दै त्यसको पुनर्मूल्यांकन गर्छु। 
तपाईंले तीनवटा कृति लेख्नुभयो, तीनवटैले पुरस्कार पायो, अब केका लागि लेख्ने ? 
लेखकले लेखेर पुरस्कार पाउँछ, पुरस्कार पाउन लेख्दैन। पुरस्कार पाउँदा लेखकको मूल्यांकन होला तर त्यो ठूलो कुरा हुँदैन। 
लेख्नुको प्रयोजन त हुन्छ नै, तपाईंका लागि लेख्नुको अभिप्राय हो ?
पाठकको आग्रह र मनमा रहेका केही नोस्टाल्जिया। 
कस्तो नोस्टाल्जिया ?
म काठमाडौंमा डेरा लिएर बस्छु, तर मन अझै पनि गाउँमा हुन्छ। सानोमा बुवाले भन्नुहुन्थ्यो, तिमेरु घाँस काटेर राख, म भैंसी किनेर आउँछु।' बुवाले भैंसी ल्याउनुहोला भनेर हामी घाँस काटेर राख्थ्यौं, तर बुवा र्फकनुहुन्नथ्यो। दुई-तीन दिनमा घाँससँगै हाम्रो मन पनि पहेंलो हुन्थ्यो।  त्यो बालापन, ती उत्कट चाहना, अनेकन भाव कसरी मनमा उम्रन्थे र उफ्रन्थे। त्यस्तै कुराले लेख्न उत्प्रेरणा जगाउँछ। 
तपाईंको विचारमा जीवन के हो ?
जिन्दगीलाई फर्केर हेर्न सकिन्छ, तर त्यही बाटोमा हिँड्न सकिँदैन। हामी कहाँ-कहाँ चुक्यौ, कहाँ-कहाँ मात्तियौ, त्यो देखिन्छ, तर त्यसलाई  सच्याएर त्यही बाटो हिड्न सकिँदैन।
कहिलेकाहीँ अब राम्रो गर्न सकिँदैन कि भनेर डर लाग्छ ?
मदन पुरस्कार पाउँदा मैले भनेको थिएँ- हामी सानामा घर छाउन खोला पारीबाट खर बोकेर ल्याउँथ्यौं। खोलासम्म त्यो गह्रांै हुन्थ्यो। खोलापारि  त्यसलाई पानीमा राखेर तान्थ्यौं, पानीमा त्यो हलुको हुन्थ्यो। खोला तरेपछि त्यो भारीअघिको भन्दा दोब्बर गह्रौं हुन्थ्यो, पानीकै कारण। एकपल्ट  लडेर त्यो जिन्दगीलाई उठाउने हो भने त्यो खर जस्तै जीवन दोब्बर गह्रौं हुन्छ। 
तपाईं आफूलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
कसैले मलाई राम्रो भन्छन्, कसैले नराम्रो भन्छन्। मलाई राम्रो पनि त्यत्तिकै भनिएको होइन, नराम्रो पनि त्यत्तिकै भनिएको होइन। म त्यसको  कारण खोज्छु। नराम्रोको पनि औसत निकाल्छु, राम्रोको पनि औसत निकाल्छु। जति बाँकी रहन्छ, त्यति नै म हुँ भनेर मूल्यांकन गर्छु। 
तपाईं प्रायः निरक्षर र ग्रामीण व्यक्तिको कथा लेख्नुहुन्छ, किन ?
किनभने सहरका मानिसहरू शिक्षा, शक्ति, सत्ता र सम्पत्तिको आवरणमा छोपिएका हुन्छन्। उनीहरू वास्तवमा के हुन्, थाहा हुँदैन। यस्ता  अप्ठयारा पत्र खोतल्ने क्षमताको मानिस म होइन, यही क्षमता नभएरै म ग्रामीण जनताका कथा लेख्छु। 
तर ती पात्रलाई तपाईंले अनावश्यक आदर्शको खोल ओढाउनुहुन्छ, जसले गर्दा ती पात्र लेखकको प्रभावमा परेर कृत्रिम लाग्छन्, यसो गर्नु  अन्याय होइन ?
तपाईंलाई म चित्र र तस्बिरको उदाहरण दिन्छु। पत्रकारले व्यक्तिसँग कुरा गरेर तस्बिरजस्तै कुरालाई जस्ताको तस्तै बाहिर ल्याउँछ। लेखकले  त्यसरी नै अन्तरवार्ता लिए पनि त्यसको इम्प्रेसन मात्र बाहिर ल्याउँछ, फोटोग्राफी गर्दैन, अमूर्त चित्र बनाउँछ। म सत्यलाई अझ सत्य र अझ  सुन्दर बनाउन त्यसमा कल्पना मिसाउँछु। 
तपाईं आफ्नो पात्र र परिवेशका कुरा भन्न धेरै बेर लगाउनुहुन्छ। त्यसै कारण तपाईंका पुस्तक अनावश्यक मोटा हुन्छन् भन्ने आरोप छ, किन  त्यसो गर्नुहुन्छ ?
तपाईंले फूटबल खेल त हेर्नुभएकै होला। फुटबलमा खेलाडीले सीधै गोल हान्यो भने के मज्जा ? रमाइलो खेल त तब हुन्छ, जब एकले अकोर् लाई छिर्की हान्छ, अर्कोले किक हान्छ, कर्नर हुन्छ, हेडिङ हुन्छ। अनि सोच्दै नसोचेको अवस्थामा गोल हुन्छ। म रोनाल्डिनोजस्तै खेलाई-खेलाई  गोल गर्न चाहन्छु। 
तपाईंको लेखन फरक छ, यो फरकपन कसरी ल्याउनुहुन्छ ?
लेखक पहेंलो रंग हो भने पात्र नीलो रंग हो। दुवैलाई मिसाउँदा त्यो हरियो हुन्छ। लेखक अमिलो स्वाद हो भने पात्र गुलियो। यी दुवैलाई  मिलायो भने खट्टी-मिठ्ठी बन्छ। मलाई नाम नभएको स्वाद पस्कन मन लाग्छ। नाम नभएको रंग मनपर्छ। यही नाम नभएको रंग र नाम  नभएको स्वाद ल्याउने प्रयासमै मेरो लेखनमा फरकपन आउँछ। 
तपाईं अहिले एक्लै हुनुहुन्छ। मन पराउने युवतीको लर्को देख्दा कस्तो लाग्छ ?
मेरा पुस्तक पढेर कल्पनाको अमरसँग भावुक प्रेम हुनु र साँच्चैको प्रेम हुनु धेरै फरक कुरा हो। म उहाँहरूलाई परैबाट मनमा सजाउन आग्रह  गर्छु। किनभने आगो तातो त हुन्छ, तर त्यसलाई अँगाल्दा पोल्छ। त्यसैले जाडोमा आगो ताप्न सकिन्छ, जीउमा बोकेर हिँड्न सकिँदैन। 
कतिपय युवती तपाईंकी प्रेमिका हुँ भनेर दावी गर्छन्, किन होला ?
म अलिक चिप्लो कुरा गर्छु। सकेसम्म प्रेमपूर्ण शब्द बोल्छु। त्यसैले त्यो भ्रम पर्न सक्छ। 
तपाईंको विवाह असफल भयो। यति सफल व्यक्तिको विवाह असफल हुनु आफैंमा अचम्म होइन ?
सबैको जिन्दगीमा धेरै कुरा असफल हुन्छन्। मेरा पनि धेरै कुरा असफल भए, तीमध्ये विवाह पनि एउटा भयो। जिन्दगीमा सफल कुरा एकातिर  राख्ने र असफल कुरा अर्कातिर राख्ने हो भने असफल कुराको थुप्रो ठूलो देखिन्छ।
आखिर किन असफल भयो, भन्न मिल्दैन ?
म महिलालाई आदर गर्छु। त्यो आदर कायम राख्न पनि मैले एउटी महिलाप्रति टिप्पणी गर्नु हुँदैन। 
मचाहिँ ठीक थिएँ, उनी गलत थिइन् भन्न खोज्नु भएको हो ?
मैले त्यसो भन्न खोजेको होइन। कहिलेकाहीँ सम्बन्ध जोडिएका युवक र युवती दुवै असल भए पनि विवाह असफल हुनसक्छ। कहिलेकाहीँ  युवक र युवती दुवै खराब भए पनि वैवाहिक जीवन सफल हुन सक्छ। एउटा तीतो अनुभवपछि मानिसले एक्लै जीवन बिताउने कल्पना गर्छ किन ? 
मेरो विचारमा एक्लै जीवन बिताउँछु भन्नु प्रकृतिलाई जित्छु भन्नुजस्तै हो। किनभने लोग्ने मानिस पनि अर्धमानव हो, स्वास्नीमानिस पनि अर्ध मानव नै हो। यी दुई नमिली एउटा पूर्ण मानिस तयार हुन सक्दैन। प्रेममा हुनुहुन्छ ?
हो, म एउटीको प्रेममा छु


Score : Saptahik

Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger