Headlines News :
Home » » किशोरावस्थामा पुगेपछि हार्मोन प्रभाव

किशोरावस्थामा पुगेपछि हार्मोन प्रभाव

Written By Gaurab Shrestha on Wednesday, April 10, 2013 | 9:30 PM


म १९ वर्षकी किशोरी हुँ। मेरो स्तनको टुप्पो राम्रोसँग वृद्धि नभएका कारण मलाई चिन्ता भैरहन्छ। स्तन पनि राम्रोसँग विकसित भएको छैन।  मेरो समस्याको समाधान गर्ने कुनै उपाय छैन ? यो के कारणले हुन्छ र यसले भावी जीवनमा कस्तो असर गर्छ ? 

७१६९९

तपाईंलाई थाहै होला, किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ। स्तन भन्नाले सामान्यतः  महिलाको छातीमा हुने दुई विशेष ग्रन्थिलाई जनाउँछ। स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ। सामान्यतः  दुई-तीन वर्ष ढिलो-चाँडो हुनुलाई स्वाभाविक मानिन्छ। दुवै स्तनको विकास समान रूपमा नभएर एउटाको पहिले र अर्कोको केही पछि हुन  सक्छ, तर स्तनको विकास पूरा हुँदा दुवै स्तनको आकार बराबरजस्तै हुन्छ। थोरै असमानतालाई सामान्य मानिन्छ। दूध उत्पादन गर्न आवश्यक  पर्ने ग्रन्थि तथा नलीहरूको विकास किशोरावस्थामा सुरु भए पनि गर्भवती हुँदा तथा स्तनपान गराउँदा निस्कने हार्मोनहरूले नै स्तनको  विकासलाई पूर्णता दिन्छन्। स्तनको आकार तथा स्वरूप प्राकृतिक रूपमै हुने भएकाले यसमा हामीले चाहेअनुसारको नियन्त्रण नहुन सक्छ।

स्तनको आकार तथा आकृतिले महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव पार्छ। यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका  कारण बढी चिन्ता गरिन्छ। हाम्रो लगायत कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिन्छ। त्यसैले स्तनलाई निश्चित रूप दिन  महिलाहरूमा दबाब हुने गरेको पाइन्छ। शारिरीक तथा यौन विकासको क्रममा स्तनका कारणले भएको शारिरीक विम्ब सँग सम्बन्धित चासोले  पिरोलेको अवस्था हुन्छ। तपाईंले स्तनको नाप एवं शरीरको तौल आदिका बारेमा थप जानकारी लेख्नुभएको भए जवाफ दिन सजिलो हुने थियो।  स्तनको आकारमा वंशाणुगत कुराको प्रभाव एकातिर हुन्छ भने अर्कातिर पोषणको। यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा  महत्त्वपूर्ण छ। पोषण ठीक नभएकी युवतीको शरीरको तौल कम हुने मात्र होइन, स्तनको आकारमा पनि त्यसको प्रभाव पर्छ।
बुझ्नुभएकै होला, बाहिरबाट देखिने स्तनको आकार वास्तवमा स्तनमा जम्मा भएको बोसोको कारणले गर्दा हो। यो अंगमा शरीरको अन्य  भागको तुलनामा भन्दा अतिरिक्त मात्रामा बोसो जम्मा हुने कार्य इस्ट्रोजनको प्रभावले गर्दा नै हुन्छ।
समाधान के होला ?

बुझ्नुपर्ने कुरा के छ भने आमसञ्चारमाध्यम तथा समाजमा हुने कतिपय छलफलमा ठूला स्तन अनि शरीरचाहिँ अति नै पातला युवतीहरूमात्र  सुन्दरी हुन् भन्ने प्रचार प्रचुर मात्रामा गरिएकाले हामीलाई आफू पनि त्यस्तै हुनुपर्ने जस्तो लाग्न सक्छ। चलाखीका साथ खिचिने चित्र वा  चलचित्रमा स्तन वास्तविकभन्दा ठूला र आकर्षक देखिन्छन्। आमसञ्चारमा चित्रित गरिने व्यक्तित्वहरू आमयुवतीहरूभन्दा फरक हुन्छन् भन्ने  कुरा हामीले बुझ्नुपर्छ। हामी सबैको शरीर तथा आनीबानी आमसञ्चारमा देखाइएका पात्रजस्तै हुनुपर्छ भन्ने छैन। यस किसिमको सोचाइ एक  किसिमले भ्रम नै हो। उमेरसँगै तपाईंमा परिपक्वता आएपछि आफ्नो शारीरिक विम्बप्रति सहज हुनुहुनेछ। यो कुरा स्तनको हकमा पनि लागू  हुन्छ। प्रकृतिले दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने स्थिति नभएको अवस्थामा आवश्यकताभन्दा बढी पीर गर्नु  बुद्धिमानी होइन।

मुख्यतः स्तनको आकारको निर्धारण आन्तरिक रागरस -हार्मोन) हरूले गर्ने भए पनि व्यायाम तथा पोषणको सकारात्मक प्रभाव पर्छ। विभिन्न  किसिमका खाने तथा लगाउने औषधी बजारमा उपलब्ध भए पनि त्यसको दीर्घकालीन प्रभावकारितामा भने विवाद नै छ। शल्यक्रिया गरेर  स्तनको साइज बढाउनु अर्को उपाय हो। यो महँगो त हुन्छ नै, यसका नकारात्मक असरहरू पनि हुन्छन्।

सामान्य आयतन र आकारकै स्तन भए पनि कसैलाई यो सानो लाग्न सक्छ भने कसैलाई ठूलो। यसमा तपाईंमा आमसञ्चारका माध्यमको  प्रभाव परेको हुनसक्छ भने अर्कातिर तपाईंको नजिकका युवती साथीहरूका स्तन बढी ठूलो भएको र केटा साथीहरू उतै आकषिर्त भएकाले  पनि दबाब सिर्जना हुनसक्छ। बुझ्नुपर्ने कुरा के हो भने स्तनको आकार सानै भए पनि स्तनको यौन आनन्द दिने एवं स्तनपान गराउन दूध  उत्पादन गर्ने क्षमतामा कुनै असर पर्दैन।

भावी जीवनमा के-कस्तो असर पर्ला ?

स्तनको आकार तथा साइजले स्तनपान तथा यौन उत्तेजनाको कार्यमा कुनै नकारात्मक प्रभाव पार्दैन। सानै भए पनि स्तन यौन सम्वेदनशील  हुन्छ र दूध उत्पादन गर्न सक्छ। त्यसैले यदि तपाईंको प्रश्न यौन सुख प्राप्ति तथा सन्तान जन्मिसकेपछि त्यसको पोषणका लागि दूध ख्वाउने  सन्दर्भमा हो भने अनावश्यक रूपमा चिन्ता नलिनु भए हुन्छ। भाग्यवश स्तन छोपिने अङ्ग भएकाले त्यसमा उभार ल्याउन अनि आकर्षक दे खिन विशेष किसिमको ब्रेसियर -थुनचोली) भित्र वा त्यसभित्र केही कुरा प्रयोग गर्न सकिन्छ।

अर्को पाटोतिर हेर्ने हो भने स्तनको आकार वा साइजको प्रभाव हाम्रो मानसिकतामा परेकाले त्यो हाम्रो आत्मसम्मानसँग जोडिएको हुन्छ,  त्यसैले समस्या जन्माउँछ। तपाईंमा हीनताबोध भयो र यौन आकर्षक भइनँ भन्ने लागे त्यसले समस्या अझ बढाउँछ। तपाईंको शरीरको  विम्बप्रति भविष्यमा तपाईंको यौन साथी -प्रेमी वा श्रीमान्) ले कसरी लिन्छ, त्यो पनि महत्त्वपूर्ण हुन्छ। कतिपय पुरुषलाई ठूला वक्षस्थल आकर् षक लागे पनि त्यसलाई खासै महत्त्व दिँदैनन् र महिलाको यौन आकर्षण सम्पूर्णतामा हेर्छन्। त्यस्तो स्थितिमा कुनै समस्या पर्दैन, अन्यथा  त्यसलाई व्यवस्थापन गर्नु मुख्य कुरा बन्न पुग्छ।




Via-Saptahik
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger