Headlines News :
Home » » सायद जानुभयो कि के थाहा ?

सायद जानुभयो कि के थाहा ?

Written By Gaurab Shrestha on Friday, July 27, 2012 | 5:22 AM


दण्डपाणि पाण्डे, गीतकार
कोमल वली नेपाली गीतसंगीतमा चिनाइरहनुपर्ने नाम होइन । पछिल्लो समय उनका तिजका 
परिवेशमा गाइएका गीतले निकै चर्चा कमाएका छन् । तर, ती गीत लेख्ने गीतकार दण्डपाणिको भने खासै चर्चा भएको सुनिँदैन । नयाँ पत्रिकाले उनलाई सम्पर्क गरेर कोमल वलीको गीतबारे बताउन आग्रह गर्दा पनि उनले लामै
समय आनाकानी गरे । तर, पछि उनले दिन खोलेरै आफ्ना पाँच गुनासा सेयर गरे । प्रस्तुत छन्, दण्डपाणिकै गीत गाएर चर्चा कमाएकी गायिका कोमल वलीप्रति दण्डपाणिका पाँच गुनासा ः
ध २०५३ सालतिरको कुरा हो । मैले एउटा लोकगीत बनाएको थिएँ । स्वर्गीय राम थापा र सीता थापाले गाउनुभएको थियो । त्यो गीत कोमल वलीजीलाई मन परेछ । उहाँले मलाई एउटा गीत लेख्न अनुरोध गर्नुभयो । त्यसपछि म उहाँको बोली, वचन, स्वभाव, स्वर, राम्रो रूप, उमेर पुगेको अवस्था, अविवाहित स्थितिलाई ध्यानमा राखी एउटा गीत सोच्न थालेँ । एकदिन झ्वाट्ट फुर्‍यो, 'तुलसीपुरमा म जाँदाखेरि, भेटै भयो गजबको तन्नेरी, मलाई हेर्‍यो मजाले, उसले भन्यो, ए नानी गाजले, म त मरँे लाजले। केही दिनपछि यो गीत रेकर्ड पनि भयो, म्युजिक नेपालबाट बाहिर पनि आयो । एल्बममा गायिका भनेर उहाँले आफ्नो नाम ठूलो अक्षरमा त लेख्नुभयो तर शब्द/ लय सिर्जना गर्ने मेरो नाम लेख्न भने कन्जुस्याइँ गर्नुभयो । अरूको कलाको गला थुन्नु भनेको सिर्जना मार्नु हो, यो कुरो बुझेर पनि कोमलजीले बुझ पचाउनुभयो  
ध ०५६/०५७ तिर फेरि उहाँले मलाई अर्को गीत चाहियो भनेर अनुरोध गर्नुभयो । उहाँलाई दोहरी गीत गराउने क्रममा सोच्दै जाँदा 'चरीचुच्चे च तिम्रो जोवन यो ज्यानलाई साह्रै नै मनपरेको छ' भन्ने थेगो दिमागमा आयो अनि मैले त्यो दोहोरी गीतलाई जति विस्तार गर्नुपर्ने हो गरेर उहाँलाई देखाएँ अनि उहाँले पनि 'ओके' गर्नुभयो । सो एल्बमको दोस्रो गीत 'जालेरुमाल चट्टै' भन्ने थियो । पहिलो गीत राजु परियार तथा कोमल वलीको स्वरमा थियो भने दोस्रो गीत खड्कबहादुर बुढा र कोमल वलीको स्वरमा थियो । सो एल्बम धौलागिरी क्यासेट सेन्टरबाट बजारमा ल्याइएको थियो । त्यो गीतले पनि निकै चर्चा पाएको थियो । यो एल्बममा पनि मेरो नाम साह्रै सानो अक्षरमा लेखिएको थियो 
ध अन्दाजी ०६२/६३ तिरको कुरा हो मैले एउटा गीत लेखेको थिएँ, 'बीसबाइसे गइसक्यो उमेर, फेरि बँैस आउँदैन घुमेर, बिहे भा'छैन, कसले मलाई लाने हो थाह छैन, अहिलेसम्म कोही पनि माग्न आ'छैन। यो बोलको गीत उहाँलाई निकै सुहाउनेे जस्तो लाग्यो किनभने उहाँको बिहे भएको थिएन र उहाँको स्वरलाई पनि अति सुहाउने भएकाले मैले उहाँलाई गाउन अनुरोध गरँे । बारम्बार इन्कार गरे पनि उहाँले पछि हुन्छ भन्नुभयो । यो गीतको चर्चा चलिरहेका वेला तिज आयो । एक दिन ललितपुर, कुपन्डोलमा उहाँकै मिडिया मेटर्स भन्ने अफिसमा म उहाँलाई भेट्न गएँ । उहाँ बाहिर निस्कनुभयो तर म त्यहीँ नै गीत लेखेर बसेँ, 'पोइल जान पाम्' शीर्षकमा । एक दिन उहाँसँग उहाँकै घरमा गएका वेला यही गीतको पारिश्रमिकबारे कुरा गर्दा उहाँले निकै कम मात्र दिने कुरा गर्नुभयो । निम्नस्तरको पारिश्रमिक लिन म तयार भइनँ । उहाँ चर्किनुभयो र आक्रोश पोख्नुभयो, 'म तपाईंको गीत पनि गाउँदिनँ, तपाईं मेरो घरमा नआउनुहोस्, फोन पनि नगर्नुहोस्' तर, पछि उहाँले मेरै गीत गाउनुभयो । पोइल जान पाम्ले चर्चा पनि निकै कमायो नि 
ध अर्को वर्षको तिजमा उहाँले मसँग अर्को गीत माग्नुभयो । मैले एक हप्ता लगाएर लेखेको 'पैसा जति लगेर भट्टीतिर गएर जाँड रक्सी नखाऊन् महादेव मेरा बूढाले, जता पायो डुलेर केटीसँग भुलेर कान्छी बूढी नल्याऊन् महादेव मेरा बूढाले' गीत उहाँलाई दिएँ । तर, यसमा पनि उहाँले मलाई न्याय गर्नुभएन 
ध उहाँले मेरा गीत ग्ााउने क्रम त छँदै थियो अनि एउटा तिजमा भने उहाँले अरूकै गीत गाउनुभएछ । एक दिन उहाँले मेरो बिहे किन भएन भन्ने सन्दर्भमा शिवजीकै नाम लिएर गीत बनाउनुपर्‍यो भन्दै मलाई फोन गर्नुभयो । मेरो पहिलो लेखाइ उहाँलाई त्यति चित्त बुझेनछ । त्यसपछि दुई/चार दिन नसुती, घरका काम छाडी म त्यो गीत लेख्न थालेँ । पछि उहाँले बद्मास नामको एल्बम निकाल्नुभयो । धत्तेरीका शिवजी रहेछौ बद्मास पनि नेपालमा राम्रै चल्यो । त्यसपछिको तिजमा डिस्कोसम्बन्धी गीत बनाउँदाबनाउँदै उहाँलाई भाका र गीतको सुरुको स्थायी दिएको थिएँ । बाँकी शब्द लेख्ने क्रममा थिएँ, अचानक मेरो मोबाइल बिगि्रयो । बजार आउन टाढा थियो, दुई/चार दिन ढिला भयो । उहाँले त मेरो शब्द नै नपर्खी अरूसँगै मागेर गाउनुभएछ । उहाँले अहिलेको तिजमा पनि अरू कसैको गीत गाउन लाग्नुभएको छ रे । मलाई यहाँ गाउँघरमा सबैजना सोध्छन्, 'खै कोमल वलीले तपाईंको गीत गाएको ?' मैले के जवाफ दिने ? तर, उहाँसँग मेरो सम्पर्क भा'छैन भन्ने गरेको छु । एकताका उहाँ पोइल जान पाम् पाम् पाम् भन्नुहुन्थ्यो, सायद जानुभयो कि के थाहा ?

Via-Naya Patrika
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger